भूकम्पको इपिसेन्टरमा पुगेन राहत, भोकै बिते रात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२१ कात्तिक, जाजरकोट (रामीडाँडा) । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् ।

एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती (७८) लाई उठाइन् । आँखा नदेख्ने उनी श्रीमानको सहारामा भागेर ज्यान जोगाउन सफल भइन् । ‘अलिकती बाहिर के आएको थिएँ, गर्ल्याम्म घर ढलेको आवाज आयो । छोरा-बुहारीलाई आवाज दिएँ, सबै भागेर बाँच्न सफल भए,’ भूकम्प गएको रात सम्झिंदै उनी भन्छिन् ।

शुकबार गएको भूकम्पले घर ढलेको आज चार दिन भयो । घर भत्किएपछि उनको ९ जनाको परिवार घर नजिकैको प्रतिक्षालयमा बसेको छ । त्रिपाल नभएकै कारण प्रतिक्षालयमा बसेको बिर्मीले बताइन् । ‘पाल पनि छैन, पाल किन्ने पैसा पनि छैन । पाल हुनेहरु खुल्ला चौरमा पाल हालेर बसेका छन्, हामी केही उपाय नलागेपछि यही चौतारोमा बसेका हौं,’ अनलाइनखबरसँग कुरा गर्दै बिर्मीले भनिन्, ‘अहिले पनि भूकम्प गइरहेको छ । यही चौतारो पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।’

घर भत्किएपछि लत्ताकपडा र खाद्यान्न पुरिएको छ । चिसो भुइँमा रात बिताइरहेका उनीहरु अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । ‘गाउँलेले दिएको घोगा (मकै)को पिठो र जंगलबाट सिस्नु ल्याएर हिजो दिउँसो खायौं । त्यो पनि सकियो । हिजोको रात भोकै सुत्यौं । आज के खाने हो थाहा छैन,’ भीम बहादुर भन्छन् ।

धनकलाको परिवार बसेको त्रिपाल ।

धनकला जस्तै सिर्पाचौरका अधिकांश बासिन्दाले आफ्ना गाईवस्तुलाई जंगलतिर छोडेका छन् । आफूहरु पनि बाहिरै खाना बनाएर खान्छन् । खुला चौर र बारीको कान्लामा टाँगेको पालभित्र सुत्छन् ।

बारम्बार भूकम्पका पराकम्प आइराख्ने हुँदा घरभित्र छिर्ने अवस्था छैन । मानवीय क्षति कम भए पनि भौतिक क्षतिले तहसनहस बनाएपछि चिसोमा रात कटाइरहेका सिर्पाचौरका प्रभावितहरू अहिले राहत र पुनर्स्थापनाको पखाईमा छन् ।

सरकारले राहत पठाएको सुने पनि गाउँमा आफूहरुले केही नपाएको स्थानीय खुमप्रसाद पुन (४२) बताउँछन् । ‘सरकारले राहत बाड्यौं भनेको रेडियोेबाट सुनेँ, तर हामीले ओत लाग्ने पालसम्म पाएका छैनौं,’ उनले आक्रोश पोखे, ‘सरकारी गफ सुनीनसक्नु छन् । हाम्रा पीडा भनीनसक्नु छन् ।’

चिसोमा बाहिर बस्नुपर्दाको दुःख मात्र छैन उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ । सोमबार पनि रामिडाँडालाई नै केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको परकम्प जाँदा नागरिकहरु थप त्रसित छन् ।

भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समितिले दाबी गरे पनि सिर्पाचौर लगायतका दुरदराजका अधिकांश पीडितहरुले राहत नपाएको बताइरहेका छन् ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सोमबार दिउँसोसम्म सबैजसो प्रभावित क्षेत्रमा राहत पठाइएको दावी गरे । राहत बारेकोट गाउँपालिकामा पुगे पनि पीडितहरुले अझै पाउन सकेका छैनन् । मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भन्दै ढिलाइ भएको देखिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।