सैनामैनामा हुने अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको तयारी पुरा, भोलिदेखि खेलहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, मंसिर ११ । 
रुपन्देहीको सैनामैना –६ कलौनीमा सञ्चालन हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।  भोलि मंगलबार देखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरि आज जानकारी दिएको हो ।  प्रतियोगिता दुधराक्ष युवाक्लबको आयोजनामा यहि मंसिर १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । समाजसेवी स्व.ढुण्डी थरुनीको स्मृतीमा सो प्रतियोगिता गर्न लागिएको छ ।

प्रतियोगिताले भलिबल खेलको विकासमा टेवा पुग्ने साथै युवा खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीहरुलाई अवसर दिने क्लबका अध्यक्ष किरण पोखरेलले बताउनुभयो । प्रतियोगिताको खेल मैदान, टिम दर्ता, प्याराफिट र मंच निर्माणको काम पुरा भएको उहाँले बताउनुभयो । दर्शकलाई अवलोकन सहज हुने गरि करीब २ हजार क्षमताको अस्थाई प्याराफिट बनाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ ट्रफी,प्रमाणपत्र, उपविजेतालाई नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमलाई नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनुभयो । यसैगरी सान्त्वना टिमलाई नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिनेउहाँले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना हुने उक्त प्रतियोगितामा दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

खेलमा लुम्बिनी प्रदेश र अन्य जिल्लाका गरी १० टिमहरुको सहभागिता हुने छ । प्रतियोगिता सञ्चालन गर्न १६ देखि १८ लाख रुपियाँ खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समिति, लगाएत विभिन्न ब्यक्ति तथा संस्थाको सहयोग मिलेको उहाँले जानकारी दिनु भयो ।

मंगलबार उद्घाटन खेल रुपन्देही र पाल्पा जिल्ला भलिबलका बिच हुने आयोजकले बताएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई newsradiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।